मधेशलाई छुट्टै देश नबनाए सम्म चुप लाग्दिनः सीके राउत

सीके राउतले आफूले अदालतमा बयान नफेरेको तर मिडियाबाजी भने फेरेको भनेर गरिएको दावी गर्दै आफू सँधै ‘मधेश देश’को पक्षमा रहेको र रहने स्पष्ट पारेका छन् ।

चुरेको केही क्षेत्र सहित सम्पूर्ण सम्म भूभागलाई उनले स्वतन्त्र ‘मधेश देश’कोरुपमा ब्याख्या गरे । देशमा संघीयता आएर ‘एक मधेश एक प्रदेश’ भएपनि मधेशका समस्या समाधान नहुने भन्दै उनले अहिलेका मधेशी दलसँग आफ्नो कुनै साइनो नरहेको समेत बताए ।

CK Raut

मधेशमा शासक वर्गले औपनिवेशिक शासन लादीरहेको दावी गर्दै उनले मधेशको साधन श्रोतमाथि काठमाडौंको नियन्त्रण हुने र मधेशको करमाथि पनि काठमाडौं नै राज गर्ने अवस्था रहेकै कारण मधेशलाई नेपालबाट छुट्टाउनै पर्ने बताए । मधेशमा पटक पटक विद्रोह भैसकेको र मधेशीलाई नेपाली जस्तो ब्यवहार नगरिने कारण छिट्टै नै मधेशी जनता ‘मधेश देश’को पक्षमा उँभिने उनको भविष्यवाणी छ ।

आफूलाई जन्म कैदको सजाय भएपनि कुनै हालतमा आफ्नो माग नछोड्ने बताउने राउतले आफू कुनै राजनीति गर्नका लागि मधेश देशको पक्षमा नउँभिएको दावी गरे । आफ्नो उद्देश्य मधेशी जनताको मुक्ति नै भएको दावी गर्दै उनले कुनै सांसद, मन्त्री वा राष्ट्रपति बन्ने लोभबाट आफूले यो अभियान शुरु नगरेको बताए ।

मधेशी जनताहरु देशभित्रै औपनिबेसिकरुपमा रहिरहेको र मधेशीलाई नेपाली मान्न राज्यले नै अस्वीकार गरिरहेको दावी गर्ने उनले मधेश छुट्टै देश नबने सम्म नागरिकता लगायतका समस्या समाधान हुनै नसक्ने जिकिर गरे । मधेशमा भैरहेको बसाइसराइ उपनिबेश बनाउने षडयन्त्रकै रुप भएको उनको दावी छ । मधेशमा भाषा र संस्कृतिको अतिक्रमण भैरहेको बताउँदै उनले मधेशीलाई नेपाली नमान्ने राज्य आफूसँग वार्ता गर्न समेत अनिच्छुक रहेको बताए ।

आफ्ना मागको पक्षमा मधेशमा जनलहर नै देखिएको दावी गरेका उनले मधेश उनकै शब्दमा औपनिबेशिक शासनबाट मुक्त भएर छिट्टै छुट्टै देशकोरुपमा स्थापित हुने भविष्यवाणी समेत गरेका छन् ।

राउतसँगको पूर्ण अन्तर्वार्ता छिट्टै प्रकाशित गरिने छः सम्पादक ।

- See more at: http://www.nepaliheadlines.com/2015-02-23-07-54-49.html#sthash.4dOVxPFx.dpuf