मधेश अलग देश बनाएरै छोड्छुः सीके राउत (भिडियो सहित)
CK Raut

CK Raut

आफूलाई मधेशी अभियान्ता भन्न मन पराउने डा सीके राउत वर्तमान नेपाली राजनीतिको चर्चा र विवादमा रहेका पात्र हुन् । मधेशलाई छुट्टै देश बनाउने अभियानमा रहेका उनले राज्य विप्लवको मुद्धा खेपिरहेका छन् । यही अभियानकै क्रममा उनी पटक पटक पक्राउ पर्दै छुट्ने क्रम पनि चलिरहेको छ । एकथरी सीके राउतलाई ‘देशद्रोही’को रुपमा हेर्छन् भने मधेशभित्र भने कतिपयको आँखामा उनी ‘मुक्ति योद्धा’ हुन् । तिनै विवादित सीके राउतसँग नेपाली हेडलाइन्सका सरोज गौतम र प्रयास पराजुलीले ‘तपाइँले चाहेको के हो?’ भनेर सोधेका थिए । कुराकानीमा सीके राउतले मधेश छुट्टै देश भएपनि अहिले औपनिवेशिक शासन अन्तर्गत शोषित र प्रताडित भैरहेको तर्क गर्दै आफ्नो अभियान मधेशलाई औपनिवेशिक शासनबाट मुक्त गरेरै छोड्ने रहेको बताए । मधेशलाई छुट्टै देश नबनाए सम्म आफूले विश्राम नलिने पनि उनको भनाइ छ । कुराकानीको सम्पादित अंशः - 

आफूलाई कसरी चिनाउनु हुन्छ ? तपाइँको अभियान के हो ?

मेरो अभियान औपनिवेशिक शासनमा पिल्सिरहेको मधेसलाई शान्तिपूर्ण तरिकाबाट मुक्ति गराउने हो । स्वतन्त्र तुल्याउने हो । र म त्यसको एक अभियान्ता हो । म नेता वा कुनै पार्टीको अध्यक्ष होइन । मेरो नेतृत्वमा यो अभियान अगाडि बढिरहेको छ ।

एउटा प्राविधिक विषय पढेको मान्छे तपाई कहाँबाट यस्तो विद्रोहको बाटोमा लाग्नुभयो ?
विद्रोह उत्पीडनबाट जागृत हुने कुरा हो । आन्दोलन पढेर गर्ने कुरा होइन । उत्पीडनबाट विद्रोह जन्मिने र त्यहाँबाट समस्याको समाधान गर्ने हो ।

मधेसमा औपनिवेशिक शासन छ भन्ने तपाईको आधार के हो ?
–मधेसमा ९५ प्रतिशत सेना बाहिरबाट ल्याएर राखिएको छ । मधेसमा उपनिवेशको अर्को आधार पहाडबाट शासन गर्नको लागि मानिसहरु आएर बसेका छन् । अहिले पनि नेपाली शासक वर्गका मानिसहरु मधेसमा बसाइँ आउने क्रम तिब्र गतिमा छ । सन् १९५१ मा पहाडी मुलका ६ प्रतिशत जनसंङख्या रहेकोमा २००१ मा पचास प्रतिशत भन्दा बढी भयो । आर्थिक नीतिका कारण पनि मधेस औपनिवेश हो । शासक वर्गका मान्छेहरु त्यहाँ जान्छन् । स्रोत साधन लिएर आउँछन । ७५ प्रतिशत राजश्व उठ्छ तर लगानी भने १० प्रतिशत भन्दा बढी हुँदैन ।

मधेस नै अलग गर्छु भन्ने आँट कसरी गर्नु भो ?
–म विचार पुर्‍याएरै यो अभियानमा लागेको हुँ । जतिबेला गान्धीले बेलायती उपनिवेशबाट मुक्त हुनुपर्ने अभियान चलाएका थिए उनीहरुले पनि यातना र जेल जीवन भोग्नु परेको थियो । मैले यसलाई एउटा सामान्य प्रक्रियाको रुपमा लिएको छु । कुनै आश्चार्य मान्नु पर्ने कुरा छैन ।

तपाइँको ‘मधेस देश’को भूगोल चाँहि के हो ? कि समथर भूभाग जति मधेश देश हो ?

होइन समथर भूभाग मात्र होइन उत्तरमा चुरे सहित वर्तमान पश्चिम र दक्षिणको सीमानासम्म मधेश देशमा पर्छ । खाली सम्म भूभाग मात्र होइन चुरे सहितको मधेस राष्ट्र हो ।

‘मधेस देश’ बनाउँछौं भन्ने अनि अदालतमा त बयान फेर्नु भयो नि ?
–होइन, मैले बयान फेरेको छैन । नेता र मिडियाले कुरा बङग्याएर जनतालाई दिग्भ्रमित पारेका छन् । मैले खुलेआम रुपमा भनेको छु ।

नेपाललाई ‘रण्डी’ नै भन्नुभयो ? त्यो हदसम्म किन पुग्नु भयो ?
चाहिने भन्दा बढी बदनाम गरिएको हो । यस्तो शब्दावली हाम्रो राजनीतिक दस्तावेजमा समावेश गरिएको छैन । मेरो आत्मकथामा साहित्यक रुपमा समावेश गरेको हुँ । साहित्यमा कुनै कुरा बुझाउनका लागि विभिन्न शब्द प्रयोग गरिन्छ । मैले किताबमा स्पष्ट रुपमा भनेको छु, यो लेख्नु पर्ने कारण किन आयो ? मधेसमा हुने कुरा र भन्ने कुरामा कति फरक छ ? यी सबै कुराको जवाफ त्यहाँ दिइएको छ ।

तपाइँको उग्र चिन्तनका कारण मधेशीको मुद्धा नै अवसान हुने अवस्थामा छ भन्छन नि ?
धेरै जनाले वास्तविक कारण थाहा पाउँदैछन् । सदरमुकामबाट अहिले सेवा कार्यालयहरु बारम्बार सारिदै छ । किनकी उनीहरुको हात नै बाँधिएको छ । स्वतन्त्रता पाउने कुरा हो ।

एक मधेस एक प्रदेशमा जाने त राज्यले सहमति नै गरेको छ । यो मुद्दालाई कसरी विस्थापित गर्नुहुन्छ ?
–एक मधेस एक प्रदेशले समस्याको समाधान गर्न सक्दैन । अहिले त्यो मुद्दामा आकर्षण छैन । स्वतन्त्र मधेस भयो भने मात्र सबै समस्याको समाधान हुन्छ ।

मधेसलाई छुट्टै राष्ट्र बनाउनु पर्छ भन्नु राष्ट्रियता विरोधी कुरा भएन र ? यसो गर्दा राष्ट्रियता कमजोर हुँदैन ?

–हामीले मधेस सार्वभौम सत्ता सम्पन्न अलग्गै देशको रुपमा स्थापित हुनुपर्छ भनेर स्पष्ट रुपमा भनेका छौं । राष्ट्रियता कसको कमजोर हुने भनेको ? मधेसी राष्ट्रियता झन बलियो हुन्छ भन्ने कुरा हो । अलग मधेस राष्ट्र बनाउँदा राष्ट्रियता कमजोर हुँदैन ।

तपाईलाई मधेस छुट्टै देश बन्छ भन्ने विश्वास छ ?
–जनताले चाहेको अवस्थामा हुन्छ । विश्वमा जनताको शक्तिबाट यस्ता धेरै राष्ट्र बनेका छन् । ३० बर्षको आँकडा हेर्ने हो भने ३५ वटा देशहरु स्वतन्त्र भएका छन् । जनमत संग्रह होस कि सडक संघर्ष जनताले चाहेको अवस्थामा छुट्टै राष्ट्र बनाउन सक्छन् ।

मधेसलाई छुट्टै देश बनाउने आधार के हो ?

–पहिला त जनमत निर्माण गर्ने कुरा हो । समस्या के हो भन्ने कुरा जनतालाई बुझाउनु पर्‍यो । यसको समाधान के हो ? संघीयता कि छुट्टै देशको स्थापना ? जनताले विस्तारै कुरा बुझ्दै छन् । स्वतन्त्र मधेसको पक्षमा जनमत उर्लिएर आएको छ । मधेसी जनता स्वतन्त्र मधेसको पक्षमा उर्लिएर आएका छन् । वस्तुगत रुपमा उपनिवेशिक शासनले ग्रसित छ भने त्यो मुक्त र स्वतन्त्र हुनुपर्छ । मधेसको ऐतिहासिक आधार गोर्खालीहरुले अतिक्रमण गर्नुभन्दा अघि हाम्रो आफ्नै राजा हुने गर्दथ्यो । त्यो आधारमा पनि मधेस स्वतन्त्र हुनुपर्छ भनेका छौं । सन् १८१६ र १८६० सन्धी मार्फत अंग्रेजहरुले नेपालको राजालाई प्रदान गरेको हो । १९५० मा नेपाल–भारतीबीच भएको सन्धीमा लेखिएको छ– सबै सन्धी र सम्झौताहरु खारेज हुनेछन् । खारेज हुनु भनेको अंग्रेजले राजालाई दिएको राज्य पनि खारेज हुनु हो । यो आधारमा मधेस स्वतन्त्र राष्ट्र हुन आउँछ ।

बजेट र पीडाकै कुरा गर्ने हो भने त मधेसको भन्दा बढी पीडा कर्णालीले खेपेको छ यसलाई पनि उपनिवेश भन्ने कि नभन्ने ?
–पीडित हुँदैमा उपनिवनेश भन्ने कुरा हुँदैन । कर्णालीमा मानिसहरु बढी गरिब होलान् । गरिब हुने वित्तिकै औपनिवेशबाट प्रताडित भन्न मिल्दैन । कर्णाली जस्तो भएपनि त्यहाँका मान्छेलाई नेपाली हौइनौ भनेर त्यति साह्रो हेपिदैन । नागरिकताबाट बञ्चित गरिदैन । मधेसी जनताले जतिको दंगा भोग्नु पदैन ।

तपाईले उठाएको मुद्दा संघीयताले सम्बोधन गर्दैन ?
–कसैलाई हात बाँधेर दुई छाक खाना खुवाउनु समस्याको समाधान होइन । समाधान भनेकै हात खोल्नु नै हो । औपनिवेशक शासन जहाँ हुन्छ त्यसको समाधान भनेकै स्वतन्त्रता हो । संघीयताले यसलाई सम्बोधन गर्न सक्दैन । संघीयता आउँदैमा मधेसमा अहिले रहेका सेना हट्दैन । किनकी सुरक्षा केन्द्र मातहत नै रहन्छ । बसाई सराई बेरोजार, नागरिकताको समस्या संघीयताले सम्बोधन गर्न सक्दैन । विदेश नीति र नागरिकता नीति केन्द्र अन्तर्गत चल्ने गर्छ । त्यही भएर स्वतन्त्र मधेसको कुरा हो ।

त्यसो भए अहिलेका मधेसवादी दलले उठाएको संघीयताको अर्थ छैन ?
–अहिलेको मुद्दाले मधेससँग सरोकार राख्दैन । गलत समाधान हो । तर पनि हामी संघीयता सहितको संविधान भनिरहेका छौं । किनभने संघीयतालाई पनि मधेसी जनताले एक पटक हेरुन् र महशुस गरुन् त्यसपछि स्वतन्त्र मधेसको पक्षमा उभिन आइपुग्छन् ।

मधेसमा धेरै आन्दोलन भइसके सधै आन्दोलन जनतालाई सास्ती कहिले सम्म ?
–अहिलेसम्म मधेसमा भएका आन्दोलन कि त व्यक्तिको लागि कि त पार्टीको लागि मात्र भयो । मधेसको लागि भएन । स्वतन्त्रताको कुरा यो पार्टी र कुनै संघ संगठनले पाउने होइन । जो सबैले यसमा कुनै नेताले गएर सम्झौता गरेर धोका दिने कुरा हुँदैन । पार्टीले गरेको आन्दोलन होइन । पाएपछि मधेस स्वतन्त्र राष्ट्र भइहाल्छ ।

तपाईँलाई विदेशी शक्तिबाट परिचालित मान्छे भन्छन नि ?
–कसैले उचाल्दैमा कोही मानिस उचालिँदैन । खासमा आफ्नै अनुभतिबाट उठने कुरा हो । आन्दोलनको क्रममा आरोप र आलोचना हुन्छ । हाम्रो आन्दोलनमा अन्तर्राष्ट्रिय समर्थन अपरिहार्य हुन आउँछ । स्वतन्त्र देश घोषणा गर्न अन्तर्राष्ट्रिय समर्थन चाहिन्छ ।

युरोपेली मूलुकका कुटनीतिज्ञहरुले तपाईलाई समर्थन गर्छु भनिसकेका छन् हो ?
– म बारम्बार गिरफतार भएँ । हामीले हाम्रो माग अन्तर्राष्ट्रिय संघ संगठनलाई बुझाएका थियौं । त्यही क्रममा युरोपियन युनियनले बोलाएको थियो । हामीले हाम्रो कुरा राख्यौं । मुद्दामा कुनै बहस भएको होइन । यसलाई पनि सकारात्क लिएका छौं ।

अब कति बर्षभित्र मधेसलाई अलग राष्ट्र निर्माण गर्ने लक्ष्य छ ?
–८ देखि १० बर्ष जनचेतना फैलाउने र आवश्यक जनशक्ति तयार पार्ने । भन्ने थियो मेरो गिरफ्तारीपछि एक्कासी ठूलो रुपमा जनचेतना फैलिएको छ । अहिलेको घटनाक्रम हेर्ने हो भने चाँडो पनि प्राप्त हुन्छ कि भन्ने आशा छ ।

स्वतन्त्र मधेस र स्वायत्त मधेसको बीचमा कतै समाधान भेटिदैन ?
स्वायत्त मधेस भयो भने पनि त्यसमा छुट्टिन पाउने कि नपाइने भन्ने मुख्य कुरा हो । स्वायत्त मधेस लेखाइ दिँदैमा समस्याको समाधान होइन । स्वायत्त मधेस मधेस दिएर कार्यन्वयन गरेको भए समस्याको समाधान हुन सक्दथ्यो । इमान्दारीताको खाँचो देखिएको छ ।

शान्तिपूर्णरुपमा उद्देश्य पुरा नभए फरक वाटो अपनाउने योजना छ कि ?
–छैन, विल्कुल छैन । शान्तिपूर्ण मागमा कति शक्ति छ भन्ने कुरा देखिसकेको छ । शसस्त्र बाटोमा लागेकाहरुले समर्थन पाएनन । हामीले शान्तिपूर्ण बाटोमा शक्ति हुन्छ भन्ने प्रमाणित गरेर देखाइ सकेका छौं ।

राज्यले तपाईलाई वार्तामा बोलाएको छैन ?

–यही त विडम्बना छ । न वार्तामा बोलायो न स्पष्टिकरण लियो । एकै चोटी पक्राउ गरेर अदालत पुर्‍यायो ।

देश द्रोहीकोरुपमा जेल सजाय भयो भने के गर्नु हुन्छ ?
–सजाय त भोग्नु पर्‍यो । मान्नु नै पर्‍यो । राज्यले आफ्नो काम गर्छ हामी आफ्नो काम गछौं । २० बर्ष जेल सजाय माग गरिएको छ ।

संविधान भन्दा बाहिर गएर उग्र मुद्दा उठाइरहनु भएको छ सबै शक्तिलाई विस्तापित गरेर छुट्टै राष्ट्र बनाउन सम्भव छ ?
जनताको आकर्षण र जनमत हेर्ने हो भने पुराना शक्तिहरु विस्थापित भइसकेका छन् । उनीहरुले मधेसको अधिकार प्राप्त गर्न असफल भए । उनीहरु छिट्टै विस्तापित हुनेछन्
- See more at: http://www.nepaliheadlines.com/2015-02-25-06-29-13.html#sthash.NZkfosf1.dpuf