नेपालमा नअटेका मधेशी : विभेदबारे एक बाहुनको बकपत्र-३

सिके राउतको समर्थन् गर्छस्, फस्लास् राज्यद्रोहमा

“सिके राउतको समर्थन् गर्छस्, फस्लास् राज्यद्रोहमा ।” एक मित्रले धम्कीपूर्ण सुझाव दिए ।

‘म सिके राउतलाई चिन्दिनँ, समर्थन वा विरोध गर्नु मेरो काम होइन ।” मैले ठाडो जवाफ फर्काएँ र थपें, “सन् १९५८ अर्थात् आजभन्दा ५७ वर्षअघिसम्म काठमाडौं आउँदा परिचयपत्र अनिवार्य चाहिने मधेशीहरुले नेपाली भनेर के पाए वा के गुमाए ?” मित्र नाजवाफ भए ।

‘सिके राउत ।’ यो नाम सन् २०१४ को अगष्टमा पहिलोपटक सुनेको थिएँ । त्यतिखेर म एसियन ह्युमन राइट्स कमिसन (एएचआरसी), हङकङमा थिएँ । मोरङ प्रहरीले रंगेलीको एक “छठमेला”बाट फर्किंदै गरेका बेला राउत समातिएको खबर सुन्दा उनको नाम थाहा पाएको थिएँ । राउत र उनका सहयोगी सत्यनारायण मन्डललाई ‘देश विखण्डन’ हुने अभिव्यक्ति दिएको आरोपमा पक्राउ गरिएको थियो ।

१३ सेप्टेम्बरको राति करिब १ बजे सहकर्मी ‘निलन्त’ले नेपालबाट ‘अर्जेन्ट अपिल’ आएको छ भने । एएचआरसीको नेपाल डेस्क प्रमुख प्रकाश मोहरा नेपालमै थिए । मैले ‘अपिल’ सम्पादन गर्न सक्ने अवस्था थिएन । संविधानले दिएको वाक स्वतन्त्रता, शान्तिपूर्ण भेला वा आन्दोलन गर्ने अधिकारको वकालत गर्दै ‘अपिल’ जारी भयो । अर्को दिन प्रधानमन्त्री कार्यालय, प्रहरी मुख्यालय, महान्यायाधिवक्ताको कार्यालय र राष्ट्रिय मानवअधिकार आयोगमा ‘अपिल’ फ्याक्स गरें । सम्पादक शिव करणलाई नदेखाई ‘अपिल’ जारी गरिएकोमा निलन्त, म र नेपालमै रहेका प्रकाश मोहरा आलोचित भयौं ।

एकातिर ‘देशद्रोही’लाई सहयोग गरेको भन्ने आरोप लाग्ने डर । अर्कोतिर मानवअधिकारको उल्लङ्घन भइरहेको टुलुटुलु हेरेर बस्नुपर्ने सकस । हामी कथित ‘देशद्रोही’ भयौं ।

१३ सेप्टेम्बर घटनापछि मैले मधेश आन्दोलनलाई नजिकबाट हेर्न थालें । राज्यले अनाहकमा झुठा मुद्दा लगाउँदै सिके राउतलाई पक्राउ गर्ने र यातना दिने कार्य रोकेन । राउतमाथिको प्रहरी दमनका खबर पठाउन नेपालबाट अधिवक्ता दीपेन्द्र झा र उनी आबद्ध संस्था थर्ड एलाइन्स खटिरहेको थियो ।

प्रकाशजी र म अलमलमा थियौं, के गर्ने, के नगर्ने ? एकातिर ‘देशद्रोही’लाई सहयोग गरेको भन्ने आरोप लाग्ने डर । अर्कोतिर मानवअधिकारको उल्लङ्घन भइरहेको टुलुटुलु हेरेर बस्नुपर्ने सकस । हामी कथित ‘देशद्रोही’ भयौं ।

एएचआरसीले ‘फ्रि डा. सिके राउत’ अभियान नै सुरु गर्‍यो । पहिलोपटक एएचआरसीले सिके राउतको मानवअधिकारको रक्षाका निम्ति अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्‍यो । त्यसपछि ५ डिसेम्बरमा एम्नेष्टी इन्टरनेशनलगायतका अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरुको ध्यान गयो । तर, गैरमधेशी नेतृत्वका नेपाली मानवअधिकारवादी संस्थाहरुको हालसम्म ध्यान जानसकेको छैन किनकि सिके राउत ‘मधेशी’ हो ।

madesh-2

काठमाडौंमा मधेश : मनु मखु मर्स्या 

“मनु मखु मर्स्या खः” काठमाडौका रैथाने नेवारहरुको मधेशीप्रतिको धारणालाई जनाउन यो प्रचलित भनाइ पर्याप्त छ । तर, मधेशीप्रति यो नेवारहरुको मात्रै धारणा होइन पहाडे राज्यव्यवस्थाको प्रतिनिधि व्यवहार पनि हो ।

एकदिन कीर्तिपुर जाँदै थिएँ । त्रिपुरेश्वर स्टण्डमा माइक्रो रोकियो ।

“ए ! खलाँसी भाइ खोइ त सिट ?” एउटी करिब चालिस वर्षकी जस्ती देखिने दिदी दुई किशोरीसहित माइक्रोभित्र छिरिन् ।

“ह्या ! नजानी झर्नि । अर्को’नि पाइन्च ।’ उनका दुई किशोरी (सम्भवतः छोरीहरु) कराए ।

पछिल्लो सिटमा मेरो छेउ बसेका एकजना अधबैंसे मधेशी मूलका अंकलले जुरुक्क उठेर भने, “अरे बहिनी यता आएर बस्नुस् ।” उनले आफूसँग बसेका दुई छोरालाई पनि उठ्न लगाए र भने, “उठ ! दिदीहरु बस्नुहुन्छ ।’

अंकलले फेरि भने, “बस्नु भएन ? खोइ झोला दिनुस्, म सम्हालीदिन्छु ।” किशोरीमध्ये एउटीले अर्कीलाई भनिन्, “मधेशी देख्दै चोरजस्तो छ, तँ आफै राख, नदे ।” म सन्न भएँ ।

काठमाडौं केन्द्रित राजनीतिमा मधेशलाई हेर्ने दृष्टिकोण पनि उस्तै छ । सरकारका उच्चपदस्थ कर्मचारी नै अनौपचारिक चियागफमा कहिलेकाहीँ भन्छ, “मधेशीहरु सब फटाहा, चोर, गुन्डा हुन्छन् ।”

उनीहरुका आँखामा विजयकुमार गच्छदार, जेपी गुप्ता, शरतसिंह भन्डारी, हृदयश त्रिपाठी सबका सब भ्रष्टाचारी । नागरिक समाजका सिके लाल, तुलानारायण शाह, चन्द्रकिशोर अरु धेरै भ्रष्टाचारी, मानवअधिकारवादी संस्था सबका सब भ्रष्टाचारी । सबका सब इन्डियाका दलाल । सब देशद्रोही ।

पहाडमा पनि त छन् भ्रष्टाचारी । खुमबहादुर खड्का, चिरन्जीवी वाग्ले, वामदेव गौतमको नाम आउँदैन । आए पनि किन सबै पहाडेहरुलाई भ्रष्टाचारी भनिँदैन ? गिरिजाप्रसाद कोइराला र माधवकुमार नेपाल अरु धेरै मधेशबाट आएका पहाडी मूलका नेताहरु किन इन्डियन वा मधेशी भएनन् ?

हरेक वर्ष न्यूनतम मापदण्ड पूरा नगर्ने गाविस, जिविस र नगरपालिकाको सूचीमा तराईका गाविसमात्र किन अगाडि आउँछन् ? के नेपालको पहाडी क्षेत्रमा भ्रष्टाचार हुँदैन ? एक मित्र भन्छन्, “देखिनस् मुख्य सचिवदेखि कार्यालय सहयोगीसम्म एउटै गाउँका हुन्छन् । अनि पहाडमा भ्रष्टाचार भएर के नापिन्छ ?”

तराईमा बढी हत्या लुटपाटका घटना हुन्छन् । हामी तराईमा बढ्दो जनसंख्या हेर्दैनौ । जनसंख्याको घनत्वसँगै अपराध बढ्नु नौलो कुरा होइन भन्ने बुझ्न खोज्दैनौ । र, भन्छौं, “मेरो देश मेरो गौरव !”

हजुरआमा भन्नुहुन्थ्यो “मदिसेको यत्रो लामो दाह्रा हुन्छ, स्वस्थानीको मधुरकैटभ दैत्येजस्तो । टाउकोमा फेटा । कालो न कालो । देख्दै डरलाग्दो ।”

मधेशीमाथि पहाडे अत्याचारको विकास

“हेर ! हेर ! धोती आयो, मदिसे आयो ।” सानो छँदा आमा तर्साउनु हुन्थ्यो । धोती ! मदिसे आयो ! म हायल कायल ।

हजुरआमा भन्नुहुन्थ्यो “मदिसेको यत्रो लामो दाह्रा हुन्छ, स्वस्थानीको मधुरकैटभ दैत्येजस्तो । टाउकोमा फेटा । कालो न कालो । देख्दै डरलाग्दो ।”

मेरा सैं—साथीहरुभन्थे “धोतीले मान्छे खान्छ । पँधेरामुनिको ठूलो ढुंगामा धोती लुकेर बस्छ । कहिलेकाहीँ कुहीनेटातिर बाख्रा चराउन जाँदा बाख्रा त्यही ठूलो ढुंगातिर गए भने क्यारी बाख्रा फर्काउने चिन्ताले मेरो सातो उड्थ्यो ।

तीन कक्षा पढ्दा हो कि ! “मेरो सेरोफेरो” किताबमा एउटा पाठ थियो ‘लखन चौधरी’ । मलाई नामै अनौठो लाग्यो । सोधिहालें “सर ! यो लखन भन्नी जिनिस के हो ?”

माडसाब माधवप्रसाद भट्टराई भन्नुहुन्छ “मधेशी हो भन्या । धोतीगाँठे क्या !” उनले अझ प्रस्ट्याए “हिमालय पर्वतको फेंदीमा महाभारत पर्वत छ । त्यहाँभन्दा तलको समथर भागमा बस्नेलाई मधेशी यानिकी धोतीगाँठे भनिन्छ ।”

जिज्ञासु हुँदै सोधें “मधेश भनेको कहाँ हो सर ?” सरले स्वस्थानी वाचनको शैलीमा भनें “नेपालको तरार्ई क्षेत्र र भारतलाई मधेश भनिन्छ ।” मदेश र भारतबाट आएका सबै मदिसे । सबै धोतीगाँठे ।

“मद्से” हाम्रो गाउँमा टुटेफुटे जाली चप्पल भन्दै आउँथे । जो प्लाष्टिकको जालीवाला बाक्सामा प्लाष्टिककै गहना, टिकी र चुरापोते बोकेर गाउँ डुल्थे । र, पुराना चप्पलसँग साट्थे । गाउँका दिदीहरु र भाउजुहरुको सानोतिनो मेलै हुन्थ्यो जालीचप्पलवाला आएपछि ।

एक दिन स्कुल जाँदै थियौं । जाली चप्पलवाला आएको देख्यौं “गैराबारी” नेर । यमबहादुर बलाल र उनका भाइहरु मुख्र्याइँमा नाम कहलिएका थिए । हामी उनीहरुको पछि दौडिँदै लखेट्यौ । केही टिकी, चुरा र कानमा लाउने टप खोस्यौं । फुटाल्यौं । उनीहरु हाम्रो खुट्टा समातेर रोइरहें । यमबहादुरले तत्काल जाँघे खोलेर उनीहरुतर्फ फर्किएर मुतिदिने (पिसाब फेर्ने) प्रयास गर्दैथिए, त्यत्तिकैमा एक हुल मान्छेहरु त्यतै आउँदै गरेको देखेपछि हामी टाप कस्यौं ।

त्यसपछि पनि मधेशतिरबाट आउने मधेशी हुन् या भारतीय, हाम्रो गाउँमा उनीहरु लुटिन्थें, सताइन्थें, अपमानित हुन्थे । तन्ना बेच्न जानेहरुका तन्नाहरु खोसिन्थ्यो । जलाइन्थ्यो । सानासाना बच्चाहरुले पनि तथानाम गाली गर्थे । कतिपय अवस्थामा म पनि त्यस्ता कार्यको नेतृत्व गर्थेंं । “राजुगैरा” भन्नेमा यस्तै भाँडा बेच्ने मधेशीलाई कुटीकुटी मारेको भन्ने हल्ला सुनिन्थ्यो ।

“मधेशी सब चोर हुन्छन् । ढोका राम्रोसँग लाउनु ।” गाउँमा कोही कालो रंगको छाला भएको आएको छ भने प्रायः घरमुलीहरु आफ्नी जहानमात्र होइन छोराछोरीलाई पनि यसैगरी सम्झाउथे । अहिले आएर सोच्छु, हरेक पहाडी बालबालिकाको बालमस्तिष्कमा मधेशीलाई नकारात्मक पात्रको रुपमा चित्रित गरिन्छ । पहाडे विरासतले भरिएका पाठ्यपुस्तक लाग्छ मधेशीहरुलाई शोषण गर्नकै लागि नियोजित रुपमा तयार गरिएका हुन् । Village-Madesh

मधेशी बौद्धिकप्रति पहाडे मानसिकता

सात कक्षामा पढ्दाताका एकदिन स्कुलमा मधेशी समुदायका एक माडसाप आए । उनी विद्यार्थीहरुलाई सिर्जनात्मक क्रियाकलापमार्फत् कसरी सैद्धान्तिक ज्ञान दिन सकिन्छ भनी शिक्षकहरुलाई तालिम दिन आएका थिए, एउटा सानो किताब र केही खेलौनाजस्ता सामान लिएर । स्कुलको चौरमा आइपुग्नासाथ एक हुल केटाकेटीहरु ‘धोत्ती आयो’ भन्दै गुरुरु कक्षाबाट बाहिरियौं । उनले मुसुक्क हाँसेर केही केटाकेटीलाई चक्लेट दिए । तर केटाकेटीहरु डरले भागे ।

हेडसर खगेश्वर मरासीनीले उनलाई अफिसमा लगे । हामी फेरि गुरुरु… कक्षामा । केही बेरमा उही नौलो मान्छे हाम्रो कक्षामा आए र कसरी कागजका खेलौना बनाउने, कसरी घरेलु रुपमा विज्ञानको परीक्षण गर्ने, कसरी सजिलोसँग हिसाब सिक्ने भनेर सिकाउन थाले ।

अचम्म लाग्छ, हाम्रो स्कुलका रैथाने माडसापहरु उनीसँग बसेर चिया पिउँदैनथे । उनकै अगाडि मधेशीहरु यस्तो उस्तो भनेर होच्याउँथे । ‘केही जानेको छैन गँवार हो’ भन्थे । मधेशी लवजमा बोलेजस्तो गरेर उनलाई उल्याउँथे । हामी महान विद्वानहरुलाई सिकाउन आउने धोती नाथे भनेर गिल्ला हान्थ्यौं । विद्यार्थीमात्र होइन माडसापहरुसमेत उनलाई ‘तँ’ सम्बोधन गर्थे ।

केही दिनपछि उनी फर्किए । उनी फर्किएपछि गाउँमा सुरु भयो उनकै बोलीको नक्कल । आच्चा र लिकिन । केटाकेटीहरु लय हालेर गाउँथे “आच्चा, लिकिन किन्तु, इन्तु न चिन्तु ।” गाई चराउन जाँदा गाइने दोहोरीमा थपियो एउटा टुक्का “हे…..हरियो पोस्कर, मधेशीले लैजाला होस गर ।”

देशका महाकवि, राष्ट्रकवि, युगकवि, आदिकविलगायत तेत्तीसकोटि कवि कथाकारको नाममा मधेशीहरु अटाएका छन् ? किन पहाडमा मात्र कविहरु जन्मिन्छन् ? या उनीहरु मात्र मूलधारका लेखक, साहित्यकार, इतिहासकार ? खोइ मधेशको इतिहास, मधेशको साहित्य, मधेशको लोकसंस्कृति, लोकगीत ? के मधेशीको खोपडीमा गोबर मात्र हुन्छ ? अथवा काठमाडौं खाल्टोबाहिर पहिलो पटक सिराहामा खोलिएको चन्द्र मिडिल स्कुल र काठमाडौंबाहिर पहिलोपल्ट एसएलसी सेन्टर भएको वीरगञ्जको त्रिजुद्ध स्कुलले शिक्षित जनशक्ति जन्माउन सकेन ? वा शिक्षित जनशक्ति जन्माउने ठेक्का पहाडको भागमा छ ? म गम खान्छु ।

त्रिचन्द्र कलेजमा पढाउने मेरा एक मित्र विमल भन्छन् “नासो कथा आफ्नै गाउँको कथाजस्तो लाग्थ्यो, चामे र गौंथली आफ्नै गाउँका । गुरुप्रसाद आफै बाजेजस्ता । भवानी भिक्षुका कथा मनै नपर्ने । पात्रहरु पनि घुरहु महतो रे ! नामै देखेर रिस उठ्ने ।” उनको यो भोगाइलाई मात्र आधार मान्ने हो भने कक्षा १ देखि स्नातकोत्तरसम्म नेपालको पहाडी–सन्दर्भलाई जोडेर लेखिएका ९० प्रतिशत पाठ्यसामग्री मधेशी विद्यार्थीले के बुझे होलान् ?

भवानीप्रसाद गुप्ता अर्थात् भवानी भिक्षु तत्कालीन समयका एकमात्र “मधेशी साहित्यकार”, जसको मातृभाषा हिन्दी थियो । ‘रुपरेखा’का सम्पादक उत्तम कुँवरको अन्तर्वार्ता संग्रह “श्रष्टा र साहित्य”मा भिक्षुले आफू मधेशी भएकै कारणले अपहेलना भोग्नुपरेको आशय व्यक्त गरेका छन् । अहिले पनि प्रायः मधेशी साहित्यकारको नाम गुमनाम छ । नेपाली साहित्यमा जति सजिलै भारतीय साहित्यकारहरु लीलाबहादुर क्षेत्री, इन्द्रबहादुर राई भित्रिन्छन् मधेशका नेपालीहरु उदाउन सक्दैनन् ।

हामी गोर्खाल्यान्डको मागलाई समर्थनको जयजयकार गर्छौं तर सिके राउतविरुद्ध तथानाम ओकल्छौं । प्रशान्त तामाङलाई रातारात नेपाली भनिदिन्छौ, थैइइय ! हाम्रो राष्ट्रवाद !

पहाडमा मधेशीहरुमाथिको शोषण र विभेदको जग कति बलियो बनेर बसेको छ भन्ने बुझ्न यहाँको परम्परालाई पनि बुझ्नु आवश्यक छ । चन्द्रमा ग्रहण लाग्दा आमाहरु ‘छोड चमारे छोड’ भनेर मधेशी चमारहरुलाई होच्याउँछन् ।

पहाडबाट झर्नेहरु मधेशमा

भाष्कर गौतमको सम्पादनमा मार्टिन चौतारीद्वारा प्रकाशित ‘मधेश विद्रोहको नालिबेली’ले २०६३ पुस–माघको मधेशी विद्रोहको लहरको मूल कारकको रुपमा “मधेशीहरुको अस्तित्वलाई नेपाली समाजले नकार्नु र मधेशीहरुको न्यायोचित संघर्षलाई आफूमाथिको खतराको रुपमा बुझ्ने” परिपाटीलाई औंल्याएको छ ।

काठमाडौंमा शाहवंशको उदयअघि काठमाडौंको पूर्व भेगमा क) मैथील, ख) किरात र ग) नेवार गरी मुख्य तीन राज्य थिए । फादर स्टिलर लेख्छन्, मधेशको जमिन नखोसी गोर्खा राज्य विस्तार गर्न सकिँदैनथ्यो । त्यसैले एकीकरण अभियानका प्रारम्भिक वर्षहरुमा मधेशमा बस्नेहरुमध्ये थारुहरु सबैभन्दा शोषित भए । कारण जंगलहरुका बीच थारुहरुले मिहिनेत गरेर बनाएको खेतीयोग्य जग्गा एवं बसोबासका आधारहरुलाई शाहवंशका समर्थकहरुले जागिर र बिर्ताको नाममा बक्सिसमा पाए (पृ. ३८) ।

पृथ्वीनारायण शाहले मधेश कब्जा गरेपछि मधेशीमाथिको शोषण सुरु भयो । यसअघि पनि शोषण थियो तर त्यो शोषण मधेशभित्रको आन्तरिक शोषण थियो, विदेशी (गोर्खाली) सेनाको भेषमा पहाडेहरुको शोषण थिएन । एकीकरण अभियानमा मधेशका राज्य कब्जा गरेलगत्तै तिरहुत सेनालाई विघटन गरियो र त्यसपछि निर्माण गरिएको सेनामा मधेशीहरुलाई समावेश गरिएन । राणा शासकहरुले मधेशलाई विभिन्न ‘मौजा’मा विभाजन गर्दै आफ्ना भाइ–भारदार र पहाडीहरुलाई सरकारी कर्मचारीको नाममा मधेशको भूभागलाई कब्जा गर्नेे अभियानलाई तीव्र बनाए । केही अपवादबाहेक राणाकालमा सरकारी सेवाका उच्च पदमा मधेशीहरु पुगेनन् ।

राजा महेन्द्रले मधेशी र पहाडीको जनसंख्यालाई सन्तुलन राख्ने निहुँमा पुनर्वास कार्यक्रम ल्याए । यसले पहाडीको पक्षमा योजना बनायो (पृ. १०४) । त्यसको निरन्तरता हालसम्म छ । मधेशका भूमिपुत्र थारुहरु, मधेशी दलितहरु अहिले पनि पहाडे जमिनदारको घरमा हरवाचरवा, कम्लहरी र ‘आधुनिक दास’को रुपमै बस्न बाध्यछन् ।

२०५४ सालमा हो, म आमासँग मदेस झरें घुम्न । मेरी आमाकी बहिनी सानीमाको घर थियो बुटवलभन्दा १५ किलोमिटर पश्चिममा । बाबै कति धेरै मदिसे । मैले पहिलोपटक मदिसेहरुको हुल देखें । सानीमाको खेतमा कट्टुमात्र लाएर तातो घाममा काम गर्ने मदिसे । छेवैको अर्को घरमा गोबर सोहोर्ने मदिसे । घरभित्र पंखामा बसेर मदिसेहरुलाई ‘मादरचोद’ भन्दै हप्काउने मेरा सानाबा अर्थात् मेरी सानीमाका पोइ । तर, मैले कहिल्यै सानीमाहरुलाई मदिसे भनिन्न ।

जागरण मिडिया सेन्टरका पूर्वकर्मचारी दिपेन्द्र पासवान सप्तरीका थिए । एक दिन उनले कर्मचारी बैठकमा ‘जागरणमा आगो लगाउने’ घोषणा गरे । त्यसको केही समयपछि उनले जागरण नै छाडे ।

उनले त्यसै आगो ओकलेका थिएनन् । गैरदलित समुदायकी युवतीसँग प्रेम गरेकै कारण युवतीका माइती पक्षले विष खुवाएर सप्तरी पंशेराका शिवशंकर दासको हत्या गरे । उनै पासवानको सक्रियतामा मृतकका बाबु जिल्लादेखि केन्द्रसम्म धाए । तर, अहिलेसम्म पनि उनले न्याय पाउन सकेका छैनन् । उता शिवशंकरका बाबुलाई काठमाडौं ल्याउन र लैजानका लागि आफै रिन खोजेर सहयोग गरेका दिपेन्द्रले अझै रिन तिर्न सकेका छैनन् ।

उनले शिवशंकर दासको परिवारको न्यायका लागि हारगुहार गरे । तर, पहाडे दलित अधिकारकर्मीहरु उनी आउँदैछन् भन्ने थाहा पाए भने टाप दिन्थे । दलित अधिकारकर्मीहरुले दास परिवारको न्यायका लागि आवाज नउठाउनुका दुईटा कारण थिए । पहिलो, उनी मेधशी दलित थिए । दोस्रो यदि शिवशंकर दासको परिवारले क्षतिपूर्ति पाइहालेमा त्यसमाथि उनीहरुले हालीमुहाली गर्न पाउने सम्भावना न्यून थियो ।

पहाडमा मधेशीहरुमाथिको शोषण र विभेदको जग कति बलियो बनेर बसेको छ भन्ने बुझ्न यहाँको परम्परालाई पनि बुझ्नु आवश्यक छ । चन्द्रमा ग्रहण लाग्दा आमाहरु ‘छोड चमारे छोड’ भनेर मधेशी चमारहरुलाई होच्याउँछन् ।

परियारहरुलाई (दमाईं)लाई डुम भनिन्छ । दमाईलाई किन डुम भनियो ? यसको अर्थ पहाडी दलितलाई गाली गर्दा समेत तरार्ईका डोमलाई हेप्ने परिपाटी छ । यस्तो संस्कारबाट हुर्केको पहाडी पुस्ता राजनीतिमा उदाउँदै छ । के यस्तो पुस्ताले मधेशीलाई न्याय गर्न सक्ला ? सक्दैन ! त्यसैले सिके राउतहरु मधेशमा सफल हुन्छन् । र, अहिलेका सरकारी हर्कतले अन्ततः सिके राउतहरु सफल हुन्छन् । देश माटोमात्र होइन, माटो हुनुको अस्तित्व र अपनत्व पनि हो । जब एक मधेशी नेपाली हुनुको अपनत्व गर्न पाउँदैन भने उसलाई राष्ट्रियताको राग सुनाउनु मुर्खतामात्र हो ।

शिवहरि ज्ञवाली

ज्ञवाली एसियन ह्युमन राइट्स कमिसन र जागरण मिडिया सेन्टरसँग आवद्ध छन् ।
http://esamata.com/np/2015/