डा. राउतलाई फँसाउने, बदनाम गर्ने र आन्दोलनमा होमिनका लागि बाध्य पार्ने षड्यन्त्र: प्रेस-विज्ञप्ति (२०७२ भाद्र ३० गते)

Gandhi_Mandela_Buddhaसुनसरीको भोक्राहा गाविस-६ शिवगंजस्थित देवराम यादवको घरबाट “डा. सी. के. राउतको दस्तावेजसँगै हाथहथियार फेला परेको” मिल्दोजुल्दो शीर्षक राखी विभिन्न मीडियामा आएका समाचारहरू प्रति हाम्रो ध्यान आकर्षित भएको छ। निजको घरबाट “‘अधुरो मधेस यात्रा’, ‘सङ्घीय नेपाल स्वायत्त मधेस प्रदेश’ नामक पाँच थान पुस्तक, मधेसको एकथान नक्सा, ‘मधेस अपना देश’ लेखिएको व्यानर र सिके राउतको तस्विरसमेत बरामद भएको प्रहरीले जनाएको छ।” यसरी निजको घरबाट अनेकौं पुस्तक र सरसामानहरू फेला पर्दा डा. सी. के. राउतको नामबाट शीर्षक राखी उहाँलाई बदनाम गराउने तथा आम-जनमानसलाई सत्य तथ्यबाट टाढा राखी दिग्भ्रमित गर्ने नियतले समाचारहरू प्रेषित गरेको प्रति गठबन्धन घोर आपत्ति प्रकट गर्दछ। यस सम्बन्धी हामी केही कुरा प्रष्ट पार्न चाहन्छौं।

1. स्वतन्त्र मधेश गठबन्धन औपचारिक र वैधानिक रुपमै घोषणा गरेको छ कि गठबन्धनसँग वैचारिक रुपले मात्रै जोडिन पनि यी ३ वटा आधार स्तम्भहरूमाथि दृढआस्था राख्नैपर्ने हुन्छ र त्यही अनुसार आफ्नो गतिविधि गर्नुपर्ने हुन्छ: (क) स्वतन्त्र मधेश (ख) शांतिपूर्ण एवम् अहिंसात्मक मार्ग, (ग) लोकतान्त्रिक व्यवस्था। यी कुरामाथि आस्था नराख्नेहरू गठबन्धनसँग कुनै किसिमले आबद्ध भएको मानिँदैन, गठबन्धनको साधारण सदस्य समेत हुन सक्दैन।

2. डा. सी. के. राउतद्वारा प्रकाशित किताब, डिविडी, पर्चा-पम्लेटहरू जो सुकैले राख्न सक्छन्, जो सुकैले वितरण गर्नसक्छन्। त्यसले गठबन्धनसँगको कुनै किसिमको आबद्धता जनाउँदैन।

3. ती सामानहरू बरामद गरिएका घरको घरधनी देवराम यादव कुन पार्टीका सक्रिय सदस्य हुन्, कुन पार्टीको झंडा लिएर विगत एक महिनादेखि आन्दोलनमा सक्रिय छन् र के मांग लिएर, त्यो समाचारमा किन स्पष्ट पारिएन ?

यसले डा. सी. के. राउतलाई बदनाम गर्न खोजिएको नियत प्रष्ट हुन्छ र सम्पूर्ण घटना सुनियोजित भई डा. राउतलाई फँसाउने, बदनाम गर्ने र आन्दोलनमा होमिनका लागि बाध्य गर्ने षड्यन्त्र हुनसक्ने गठबन्धनको ठहर रहेको छ। स्वतन्त्र मधेश गठबन्धन बुद्ध, गांधी र मंडेलाको सिद्धान्त अनुशरण गर्दै शान्तिपूर्ण एवम् अहिंसात्मक मार्गद्वारा नै मधेशको स्वतन्त्रता हासिल गर्न प्रतिबद्ध रहेको कुरा पुन: दोहर्‍याउन चाहन्छ र सो सम्बन्धी कुनै किसिमको भ्रम र षड्यन्त्रमा नपर्न आमजनतामा अपील समेत गर्दछ।

कैलाश महतो, सहसंयोजक
स्वतन्त्र मधेश गठबन्धन
इमेल: ourmadhesh@gmail.com